गैरकानुनी रूपमा बसोबास गर्ने २४ बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ, असार १० । नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका १५ अन्तर्गतका डल्लु र सीतापाइला क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूमध्ये कतिपयसँग राहदानी वा परिचय खुल्ने कुनै पनि वैध कागजात नभएको र कतिपय पर्यटक भिसामा नेपाल प्रवेश गरी भिसाको म्याद समाप्त भए पनि अवैध रूपमा बसिरहेको पाइएको छ ।
प्रहरीले उनीहरूलाई डल्लु र सीतापाइला क्षेत्रका विभिन्न कपडा कारखानामा काम गरिरहेको अवस्थामा फेला पारेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । नेपालको अध्यागमन कानुन विपरीत गैरकानुनी रूपमा बसोबास र श्रम गरिरहेका ती नागरिकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि आजै अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ ।