बेनी–जोमसोम सडक १२ घण्टापछि सञ्चालनमा, पहिरोले किचेर घाइते भएका चालकको मृत्यु
म्याग्दी, ११ असार । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक १२ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
सडकमा थुप्रिएको ढुङ्गा र पहिरो पन्छाएपछि आज बिहानदेखि यातायात सेवा सुचारु भएको हो । गए राति अन्नपूर्ण गाउँपालिका–६, महभिरमा गुडिरहेको विद्युतीय गाडीमाथि ढुङ्गा खस्दा वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु भएको थियो ।
मुस्ताङको कोरला नाकाबाट पोखरातर्फ जाँदै गरेको बा. प्र. ०१–०२९ च ६७२९ नम्बरको गाडीमा सवार मिया ढुङ्गाले च्यापिएर गम्भीर घाइते भएका थिए । सुरक्षाकर्मीको टोलीले उनलाई उद्धार गरी बेनीस्थित प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक विभागका उपकरण प्रयोग गरी अवरोध हटाइएको छ । विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने कार्य भइरहेको स्थानमा ढुङ्गा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडक खुलेपछि रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।