फ्रान्समा प्यारासुट प्रशिक्षणका लागि उडेको विमान दुर्घटना: प्रशिक्षक र प्रशिक्षार्थीसहित ११ जनाको मृत्यु

एजेन्सी, १५ असार । फ्रान्सको उत्तरपूर्वी सहर टोम्ब्लेनमा आइतबार प्यारासुट प्रशिक्षणका लागि प्रयोग हुने एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु भएको छ। नान्सी–एसे विमानस्थलबाट उडान भरेको केहीबेरमै विमान दुर्घटनामा परेको हो।

विमानमा सवार एक पाइलट, पाँच प्रशिक्षक र पाँच जना प्रशिक्षार्थी प्यारासुटिस्ट गरी सबै ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

फ्रान्सका गृहमन्त्री लरेन नुनेजले घटनास्थलको निरीक्षण गर्दै विमान धावनमार्गबाट करिब ३०० मिटरको दूरीमा खसेको जानकारी दिए। उनका अनुसार दुर्घटनाका बेला केही प्रशिक्षार्थीका परिवारका सदस्यहरू विमानस्थलमै थिए। उनीहरूले आफ्नै आँखाअगाडि विमान दुर्घटना भएको देखेका थिए।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय समय अनुसार बिहान ११ बजे विमानले उचाइ लिइरहेका बेला अचानक इन्जिनको आवाज बन्द भएको थियो। त्यसपछि विमान अनियन्त्रित भई सिधै जमिनतर्फ खसेको थियो। दुर्घटनाअघि विमानमा आगलागी वा विस्फोटको कुनै संकेत नदेखिएको बताइएको छ।

क्षेत्रीय प्रिफेक्ट इभ सेगुईले विमान ठाडै जमिनमा खसेको र यसको भग्नावशेष एउटा साइकल लेनमा छरिएको बताए। दुर्घटनास्थल आवासीय क्षेत्र र एउटा किनमेल केन्द्र (सपिङ सेन्टर) को निकै नजिक रहेको थियो। “यदि विमान केही मिटर यताउता खसेको भए आसपासका घर र सर्वसाधारणमा अझै ठूलो मानवीय क्षति पुग्न सक्थ्यो,” सेगुईले भने।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त एक इन्जिन भएको सो विमान जर्मनीमा दर्ता गरिएको थियो। यद्यपि, जर्मन विदेश मन्त्रालयले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।