भौतिक पूर्वाधार र प्रविधिले फेरियो नयाँ बसपार्कको रूप, महानगरपालिकाको सहकार्यले ट्राफिक व्यवस्थापन थप सुदृढ
काठमाडौँ, १५ असार । कुनै समय कवाडीका जस्तापाताका टहरा, हिलो, धुलो र दुर्गन्धका कारण अव्यवस्थित रहने गरेको गोंगबुस्थित नयाँ बसपार्कले पछिल्लो समय आफ्नो रूप फेरेको छ। काठमाडौँ महानगरपालिका–२६ विष्णुमती खोला किनारको १६१ रोपनी क्षेत्रफलमा फैलिएको यो देशकै प्रमुख बसपार्क सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत भौतिक पूर्वाधार र डिजिटल प्रविधिको प्रयोगमार्फत एक आधुनिक र व्यवस्थित टर्मिनलका रूपमा रूपान्तरण भएको हो।
महानगरपालिकाको स्वामित्वमा रहेको यो जग्गामा वि.सं. २०५६ मा तत्कालीन नगरप्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच बसपार्क सञ्चालन गर्ने सम्झौता भएको थियो। वि.सं. २०७१ देखि इन्जिनियर दीपक कुँवरले यसको व्यवस्थापकीय नेतृत्व सम्हालेपछि बसपार्कभित्र ठूलो सुधार भएको छ।
वि.सं. २०७२ मा यसको क्षमता विस्तार गरी ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने बनाइयो। हाल ल्होत्सेले महानगरलाई वार्षिक रूपमा एक करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएको छ भने सम्झौता अवधि सकिएपछि यहाँ निर्मित संरचनाहरू महानगरलाई नै हस्तान्तरण हुनेछन्।
अहिले बसपार्कभित्र सुविधायुक्त ल्होत्से मल, डिजिटल टिकट काउन्टर, अत्याधुनिक पेट्रोल पम्प, अपाङ्गमैत्री शौचालय र खाजाघरहरू निर्माण गरिएका छन्। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा निःशुल्क इन्टरनेट (वाइफाई) जडान गरिएको छ।
परम्परागत शैलीलाई विस्थापित गर्दै अहिले नयाँ बसपार्कमा कम्प्युटराइज्ड र अनलाइन टिकटिङ प्रणाली सुरु गरिएको छ। पूर्वयातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाका अनुसार पूर्वतर्फ चल्ने १०० भन्दा बढी बसहरूमा सीसीक्यामेरा र अनलाइन बुकिङ लागू गरिएपछि यात्रुहरू ठगिने क्रम रोकिएको छ र सुरक्षा बढेको छ।
हाल नयाँ बसपार्कबाट ६० भन्दा बढी जिल्लाका लागि दैनिक ३५० देखि ४०० सार्वजनिक सवारीसाधनहरू आवतजावत गर्ने गर्छन्। ल्होत्सेका महाप्रबन्धक पङ्कज मल्लका अनुसार दैनिक १० हजारभन्दा बढी यात्रुले यस बसपार्कबाट यात्रा गर्ने गरेका छन्।
दशक लामो व्यवस्थापकीय यात्रामा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला सङ्कट व्यहोर्नुपरेको ल्होत्सेका अध्यक्ष इन्जिनियर कुँवरले बताउनुभयो। यसका साथै बसपार्क प्रवेशद्वारमै रहेको ल्होत्से मल दुई पटक ठूलो आगजनी र लुटपाटको सिकार बन्यो।
वि.सं. २०७९ फागुन १ गतेको यातायात मजदुर आन्दोलनका क्रममा ७ करोड र २०८२ भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ को आगजनीमा ३५ करोड रुपैयाँ गरी कुल ४२ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो। हाल सुरक्षाका लागि बसपार्कभित्रै प्रहरी प्रभाग र ट्राफिक प्रहरी वृत्त क्रियाशील रहेका छन्।
नयाँ बसपार्कको सञ्चालनसँगै गोंगबु, टोखा र माछापोखरी क्षेत्रको आर्थिक गतिविधि व्यापक बनेको वडाध्यक्ष ख्यामराज तिवारी बताउनुहुन्छ। यस क्षेत्रमा हाल करिब १ हजार होटल र १०० भन्दा बढी दोहोरी तथा डान्सबारहरू सञ्चालनमा छन्, जसले हजारौँलाई रोजगारी दिएका छन्।
यातायात व्यवसायी महासङ्घका मुख्य सल्लाहकार विजयबहादुर स्वाँरले सवारीसाधन थपिँदै जाँदा बसपार्क केही साँघुरो हुँदै गएकाले यसलाई अझ नमुना बनाउन व्यवसायी, मजदुर र व्यवस्थापन पक्षबीच निरन्तर सहकार्य हुनुपर्ने बताउनुभयो।
महानगरले माछापोखरी क्षेत्रको खुला सडकबाट चल्ने नुवाकोट, रसुवा र धादिङका गाडीहरूलाई समेत नयाँ बसपार्कभित्रैबाट सञ्चालन गर्ने नीति लिएपछि चक्रपथ क्षेत्रको ट्राफिक व्यवस्थापन थप सुदृढ बनेको छ।