अभिमुखीकरणमा सभामुख अर्यालले भने, जिम्मेवार बन्नुस्: सांसदका हरेक गतिविधि जनताले नियालिरहेका हुन्छन्
काठमाडौँ, १५ असार । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिहरूका काम, व्यवहार र कार्यशैलीलाई मतदाता तथा आम सर्वसाधारणले विभिन्न माध्यमबाट सुक्ष्म रूपमा नियालिरहेका हुने भएकाले सबै सांसदहरू आफ्नो पदीय जिम्मेवारीप्रति थप सजग हुनुपर्ने बताउनुभएको छ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आज सिंहदरबारमा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।
सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा सांसदहरू थप अध्ययनशील र प्रविधिमैत्री बन्नुपर्ने तथा विगतका असल संसदीय अभ्यासहरूबाट सिक्नुपर्ने सुझाव दिनुभयो।
“वर्तमान प्रतिनिधिसभामा धेरै नयाँ अनुहारहरू हुनुहुन्छ, त्यसैले संसदीय विधि र प्रक्रियाबारे थप प्रष्ट पार्न र संसद्को कामलाई प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,” सभामुख अर्यालले भन्नुभयो, “जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा रूपान्तरण हुने भएकाले सोही अनुसार सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्छ।” उहाँले यस सिकाइले सांसदहरूलाई संसद्मा अब्बल भूमिका प्रस्तुत गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
समारोहमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागत मन्तव्य राख्दै सांसदहरूलाई संसदीय प्रक्रिया, नियमावली र अभ्यासका बारेमा थप जानकारी दिने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मङ्गलवार दुई दिनसम्म चल्ने यस अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, कानुन तर्जुमा प्रक्रिया र संसदीय समितिको भूमिकाबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।