बाँकेमा भाइले गरे आफ्नै दाजुको हत्या: शव नहरमा फालेर फरार

नेपालगञ्ज, १५ असार । बाँकेको कोहलपुरमा भाइले आफ्नै सहोदर दाजुको हत्या गरेको घटना सार्वजनिक भएको छ। कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीले २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विनोदले आइतबार बेलुका दाजु मनोजको हत्या गरी शव नजिकैको नहरमा फालेर फरार भएका थिए। घटनाको जानकारी पाएलगत्तै खोजीमा जुटेको प्रहरी टोलीले उनलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले दिएको जानकारी अनुसार, घरायसी विवादका क्रममा विनोदले दाजुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट मनोजको घटनास्थलमै मृत्यु भएपछि प्रमाण मेटाउने उद्देश्यले शवलाई नहरमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले मृतकको शवलाई नहरबाट निकालेर पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाएको छ। पक्राउ परेका विनोदलाई हिरासतमा राखी थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक थापाले बताए।