एआई ‘चिप’ युद्धमा दक्षिण कोरियाको आक्रामक लगानी: चीनलाई टक्कर दिन अर्बौँ डलरको नयाँ रणनीति

एजेन्सी, १५ असार । कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी लहरसँगै दक्षिण कोरियाले आफ्नो ‘चिप’ उद्योगलाई थप शक्तिशाली बनाउन अर्बौँ डलरको लगानी घोषणा गरेको छ। विशेषगरी चीनजस्ता उदीयमान प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्व बजारमा आफ्नो वर्चस्व कायम राख्न सियोलले नयाँ सेमीकन्डक्टर कारखाना र एआई डाटा सेन्टरहरूमा आक्रामक लगानी सुरु गरेको हो।

सोमबार सियोलमा आयोजित एक कार्यक्रममा दक्षिण कोरियाली सरकार र प्रमुख चिप उत्पादक कम्पनीहरूले एआई पूर्वाधारमा ठूलो लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्। एआई प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने उन्नत मेमोरी चिप उत्पादनमा हाल विश्वका तीन कम्पनीको एकाधिकार जस्तै छ। अमेरिकी कम्पनी माइक्रोन र दक्षिण कोरियाका सामसुङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्सले विश्वको ठूलो हिस्सा ओगटेका छन्।

प्रविधि विज्ञ जिम ह्यान्डीका अनुसार एआईका कारण चिपको माग मात्र बढेको छैन, बजारमा यसको अभावले मूल्य समेत आकाशिएको छ। यसको प्रत्यक्ष प्रभाव उपभोक्तासम्म पुग्न थालेको छ। एप्पलले यसै महिना आफ्ना म्याकबुक र आइप्याडको मूल्य बढाउनुलाई पनि चिपको बढ्दो लागतसँग जोडिएको छ।

दक्षिण कोरियाले यस वर्ष एआई क्षेत्रको बजेट तीन गुणा बढाउँदै अमेरिका र चीनसँगै विश्वको शीर्ष तीन एआई शक्ति बन्ने लक्ष्य राखेको छ। विश्लेषक लियन ज्ये सुका अनुसार चीनले सस्तो श्रम र ठूलो आन्तरिक मागका कारण प्रविधिमा फड्को मारिरहेका बेला सियोलका लागि यो ‘अन्तिम अवसर’ हुन सक्छ।

“मानिसहरू चिनियाँ सिलिकन (चिप) मा अत्यधिक निर्भर हुन डराइरहेका छन्,” सुले भने, “यही कारण सामसुङजस्ता कोरियाली कम्पनीहरूले उत्पादनमा दोब्बर जोड दिनु रणनीतिक रूपमा सहि छ।”

चिप उद्योगमा भइरहेको तीव्र विकासले कम्पनीहरूलाई प्रशस्त नगद त दिएको छ, तर यसले विविधीकरणको चुनौती पनि ल्याएको छ। अर्थशास्त्रीहरूले यसलाई ‘डच डिजिज’ को जोखिमका रूपमा हेरेका छन्, जहाँ एकै वस्तु (मेमोरी चिप) को मूल्य वृद्धिमा मात्र निर्भर रहँदा भविष्यमा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ।

सोमबारको घोषणासँगै दक्षिण कोरियाली कम्पनीहरूले उत्पादनलाई विविधीकरण गर्दै आफूलाई झनै नवप्रवर्तनशील बनाउने योजना अघि सारेका छन्। एआईको चकित पार्ने विकासले गर्दा सामसुङको सेयर मूल्य गत वर्ष ४३० प्रतिशत र एसके हाइनिक्सको ७७० प्रतिशतले बढेको छ। यो ऐतिहासिक वृद्धिसँगै कतिपयले एआई क्षेत्रमा ‘बबल’ (अस्थायी चमक) सिर्जना भएको हुन सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।

यद्यपि, धेरैजसो विश्लेषकहरू भने एआई उपकरणहरू अब व्यावसायिक सञ्चालनको अभिन्न अङ्ग बनिसकेकाले यसको माग र बजार अझै केही वर्ष बलियो रहनेमा आशावादी देखिएका छन्।
i