सङ्खुवासभाको सिलिचोङमा पहिरोले ७ परिवार विस्थापित, दुई विद्यालय र विद्युत् गृहमा क्षति
सङ्खुवासभा, १६ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन्। पहिरोले बस्तीमाथिको जमिन चिराचिरा परेपछि तेन्छोङका स्थानीयहरू घर छाडेर सुरक्षित स्थानमा विस्थापित भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पहिरोको जोखिमका कारण कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई, सुकप्रसाद राई, मिरा राई, धनमान राई र अरुणसङ्गम राईको परिवार विस्थापित भएको छ। विस्थापितहरूलाई गाउँपालिका र सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बाढी र पहिरोले सिलिचोङका दुई वटा विद्यालयमा गम्भीर क्षति पुर्याएपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ। सिलिचोङ–१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयको १५ वटा कक्षा कोठा पहिरोले चिराचिरा पारेको छ भने शैक्षिक सामग्रीहरू नष्ट भएका छन्।
त्यसैगरी, सिलिचोङ–४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा पनि पहिरोले ठूलो क्षति पुर्याएको छ।
गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार विद्यालयहरू पहिरोको उच्च जोखिममा रहेकाले अब सुरक्षित स्थानमा भवन नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ।
बाढीपहिरोले गाउँपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ। स्थानीय दुई वटा माइक्रोहाइड्रो आयोजना बाढीले बगाएपछि र केन्द्रीय विद्युत् प्रसारणमा अवरोध आएपछि गाउँपालिका अन्धकार बनेको छ। यस्तै, ७० प्रतिशत सञ्चार सेवा (इन्टरनेट र फोन) अवरुद्ध भएको छ।
अध्यक्ष मेवाहाङले भन्नुभयो, “गाउँपालिका केन्द्र जोड्ने सबै सडक र गोरेटो बाटोहरू पहिरोले बगाएको छ। सञ्चार र यातायात ठप्प हुँदा सरकारी सेवा प्रवाह र राहत व्यवस्थापनमा निकै कठिनाइ भइरहेको छ।”
गाउँपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौँ बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको जनाएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको छ।
अविरल वर्षा नरोकिएकाले थप क्षतिको जोखिम बढेको भन्दै गाउँपालिकाले राहत, पुनस्र्थापना र पूर्वाधार मर्मतका लागि कोशी प्रदेश र सङ्घीय सरकारसँग तत्काल सहयोगको अपिल गरेको छ। घटनास्थलमा प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएर क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।