राष्ट्रियसभा बैठक आज बस्दै, प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी सङ्कल्प प्रस्ताव र मन्त्रीहरूको प्रश्नोत्तर मुख्य कार्यसूची

काठमाडौँ, १७ असार । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको आजको बैठकमा प्रविधिको प्रयोगमार्फत हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अन्य विभिन्न कूटनीतिक र जनसरोकारका विषयहरूसहित मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभा सदस्य रेनु चन्दले महिला हकको संरक्षण, प्रविधिजन्य लैङ्गिक हिंसाको नियन्त्रण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका लागि दबाब दिने उद्देश्यसहितको सङ्कल्प प्रस्ताव बैठकमा पेस गर्नुहुनेछ।

यसैगरी, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त औपचारिक पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ।

मन्त्रालयगत प्रश्नोत्तरअन्तर्गत परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको संसद्‌मा उत्तर दिनुहुने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *