पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ, १७ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती भएसँगै स्वचालित प्रणाली (अटोमेटिक सिस्टम) अनुसार सार्वजनिक यातायातको भाडादर समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएपछि महासङ्घले यस्तो माग गरेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्यमा आएको उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समयमै समायोजन हुनुपर्नेमा जोड दिनुभयो।

“इन्धनको मूल्यवृद्धि हुँदा तत्काल भाडा बढाउने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने विगतको प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको छ,” अध्यक्ष सिटौलाले भन्नुभयो, “त्यसैले मूल्य घटेको अनुपातमा स्वचालित प्रणाली अनुसार भाडा घटाउन ढिलाइ गर्नु हुँदैन।”

अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा केवल इन्धनको मूल्यलाई मात्र आधार मान्न नहुने स्पष्ट पार्नुभयो। उहाँले सवारीसाधनको नियमित सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, मजदुरहरूको पारिश्रमिक, पाटपुर्जाको मूल्य, बैंकको ब्याजदर (लगानी लागत) जस्ता बहुआयामिक सूचकहरूलाई वैज्ञानिक मूल्याङ्कनको आधार बनाएर दीर्घकालीन भाडा नीति तय गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *