अडियो रेकर्डिङ प्रभावित भएपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, १८ असार । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको आजको बैठक प्राविधिक समस्याका कारण स्थगित भएको छ। बैठक सुरु भएको केही समयमै ध्वनि (अडियो) प्रणालीमा खराबी आएपछि सङ्घीय संसद् सचिवालयले बैठक स्थगित गरेको हो।

बैठक सुरु भई करिब १७ मिनेटसम्म चलेको थियो। सो अवधिमा केही सांसदहरूले आ-आफ्नो धारणासमेत राख्नुभएको थियो। तर, बैठकको प्रत्यक्ष प्रसारण र संसद्को आन्तरिक रेकर्ड प्रणाली (अडियो रेकर्डिङ) मा आवाज नआउने प्राविधिक समस्या देखिएपछि बैठक अगाडि बढाउन नसकिएको सचिवालयले जनाएको छ। प्राविधिक टोलीले उक्त समस्या समाधान गरेलगत्तै बैठक पुनः सुचारु गरिने बताइएको छ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई प्राप्त भएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सन्देशहरू टेबल गर्ने कार्यसूची थियो।

यसका साथै, आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कृषि, वन तथा पर्यावरण मन्त्रालय; पूर्वाधार विकास मन्त्रालय; गृह मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय; परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; रक्षा मन्त्रालय; राष्ट्रपतिको कार्यालय; उपराष्ट्रपतिको कार्यालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट विनियोजन शीर्षकहरूमाथि समूहीकृत छलफल गर्ने मुख्य कार्यसूची तय गरिएको थियो।