ट्राफिक प्रहरीले उठायाे २४ घण्टामा ५ लाख बढी राजस्व, १८ सय चालक कारबाहीमा

काठमाडौँ, २१ असार । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध प्रहरीले कारबाहीलाई तीव्र पारेको छ। बितेको २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा १ हजार ८१३ जना सवारी चालक कारबाहीमा परेका छन्।

सवारी नियम पालना नगर्ने चालकहरूबाट ट्राफिक प्रहरीले कुल ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन गरी राज्यकोषमा दाखिला गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन र तीव्र गतिमा सवारी चलाउनेहरू कारबाहीमा परेका छन्।

यसबाहेक अन्य विभिन्न सवारी नियम पालना नगरेका १ हजार ११० जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
सडक अनुशासन कायम गराउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका मुख्य चोक तथा भित्री सडकहरूमा नियमित र आकस्मिक जाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ। विशेष गरी पछिल्लो समय नियमविपरीत चल्ने राइड सेयरिङ र फुटपाथ पार्किङ विरुद्ध ट्राफिक प्रहरीले विशेष निगरानी बढाइरहेको छ।