कीर्तिपुरस्थित सशस्त्र प्रहरी स्कुलमा आर्थिक हिनामिना: इन्स्पेक्टरसहित दुई जना पक्राउ
काठमाडौँ, २१ असार । काठमाडौँको कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्कुलकी लेखा प्रमुख एवं इन्स्पेक्टर कल्पना गुरुङ र लीला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएको हो। “दुई जनालाई हिजो पक्राउ गरिएको हो, आज अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाउँछौँ,” एसपी भट्टराईले भने।
सशस्त्र प्रहरी बल मुख्यालयले स्कुलको कोषमा आर्थिक हिनामिना भएको भन्दै कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
आरोपीहरूमाथि स्कुलको खातामा हुनुपर्ने करोडौँ रुपैयाँ व्यक्तिगत खातामा जम्मा गरी हिनामिना गरेको आशंकामा अनुसन्धान सुरु गरिएको छ।
यस प्रकरणको मुख्य योजनाकार मानिएकी इन्स्पेक्टर गुरुङ विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालका रूपमा कार्यरत थिइन्। घटनाको विषयमा सुरुमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनका क्रममा कैफियत देखिएपछि मुख्यालयले थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई अनुरोध गरेको थियो। यसै प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ।