वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ, २१ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्।
केन्द्रीय प्रहरीका अनुसार पन्तले एक जना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख रुपैयाँ र खत्रीले दुबई पठाउने बहानामा ६ जना व्यक्तिबाट २३ लाख रुपैयाँ असुल गरेको आरोप छ। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। दुवै आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग चलान गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीको नियमित गस्ती टोलीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाका विभिन्न क्षेत्रबाट उनीहरूलाई निषेधित लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।