बालक हत्याको आरोपमा एक युवक पक्राउ
काठमाडौँ, असार २२ । कैलालीमा १० वर्षीय बालक तनुज चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ६ निवासी ‘खगेन्द्र’ भनिने खेमराज कठायत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार कठायतलाई धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोड क्षेत्रबाट आज नियन्त्रणमा लिइएको हो ।
गत असार १२ गते धनगढी उपमहानगरपालिका १७ स्थित कालिका सामुदायिक वनमा बालक तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा कठायतको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कठायतलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) अन्तर्गत थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।