बर्डफ्लु पीडित किसानलाई साताभित्रै ५२ करोड राहत दिइने

काठमाडौँ, २३ असार । पशु सेवा विभागले बर्डफ्लु सङ्क्रमणका कारण क्षति व्यहोरेका ११ जिल्लाका किसानलाई राहत उपलब्ध गराउने अन्तिम तयारी गरेको छ। विभागले एक साताभित्रै करिब ५२ करोड रुपैयाँ क्षतिपूर्ति बापत किसानको बैंक खातामा पठाउने प्रक्रिया अघि बढाएको हो।

रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा र दानाको मूल्याङ्कन गरी ७५ प्रतिशत रकम राहतस्वरूप प्रदान गर्न लागिएको विभागले जनाएको छ।

विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीका किसानले यो राहत पाउनेछन्। “हामीले असार मसान्तभित्रै भुक्तानी गर्ने लक्ष्य राखेका छौँ, यदि प्राविधिक कारणले ढिला भए नयाँ आर्थिक वर्षको सुरुमै किसानले रकम पाउनेछन्,” प्रवक्ता उपाध्यायले भने।

हालसम्मको तथ्याङ्क अनुसार बर्डफ्लुले करिब ७० करोड रुपैयाँको आर्थिक क्षति पुर्‍याएको अनुमान छ। जसमा ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको थियो।