ललितपुर महानगरले साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने, हटलाइन ११३१ सार्वजनिक
ललितपुर, २५ असार । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई लक्षित गरी घरघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। महानगरपालिकाले ‘होम केयर’ सेवा प्रभावकारी बनाउन आवश्यक चिकित्सक, नर्स र औषधिसहितको मोबाइल स्वास्थ्य टोली परिचालन गर्न लागेको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको टोल फ्री (हटलाइन) नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई अनुरोध गरेका छन्। उक्त हटलाइनमा फोन प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको टोली बिरामीको घरमै पुग्ने व्यवस्था मिलाइएको छ।
घरमै पुगेको स्वास्थ्य टोलीले बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण र औषधोपचार गर्नेछ। बिरामीको अवस्था गम्भीर भई घरमा उपचार सम्भव नभएमा सोही एम्बुलेन्समार्फत तत्काल सम्बन्धित सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गरिने महानगरपालिकाले जनाएको छ।
अस्पतालसम्म पुग्न नसक्ने असहाय, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाहरूका लागि यो सेवा उपयोगी हुने विश्वास लिइएको छ। हाल ललितपुर महानगरपालिकाभित्र करिब २ लाख ९४ हजार जनसङ्ख्या बसोबास गर्दछ।