सर्लाहीकाे लालबन्दीमा मोबाइल व्यवसायीमाथि गोली प्रहार, प्रतिकारपछि लुटेरा समूह फरार

सर्लाही, २५ असार । सर्लाहीको लालबन्दीमा गएराति एक व्यवसायीमाथि गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ। लालबन्दी नगरपालिका–७ र ३ को सीमा क्षेत्रमा पर्ने सडक खण्डमा अज्ञात समूहले व्यवसायीमाथि गोली चलाएर लुट्ने प्रयास गरेको हो।

लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका स्थानीय ७ नम्बर वडा निवासी हरिप्रसाद सापकोटामाथि लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। राति पसल बन्द गरी मोटरसाइकलमा घर फर्कने क्रममा मोटरसाइकलमै आएका तीन जना अज्ञात व्यक्तिले उनलाई पछ्याउँदै एकान्त स्थानमा बाटो छेकेर लुट्न खोजेका थिए।

सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरू नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए। “व्यवसायी सापकोटालाई पछ्याएर एकान्त ठाउँमा पुगेपछि बाटो छेकी लुट्ने प्रयास भएको देखिन्छ। उहाँले प्रतिकार गरेपछि लुटेराहरू गोली प्रहार गर्दै भागेका छन्। हामी अनुसन्धान गरिरहेका छौँ,” डीएसपी गौतमले भने।

प्रहरीले घटनास्थलबाट नलकटुवा पेस्तोलबाट प्रहार गरिएको गोलीको एक थान खोका बरामद गरेको छ। गोली प्रहारबाट व्यवसायी सापकोटा सुरक्षित रहेको र फरार लुटेराहरूको खोजीका लागि जिल्लाभरि नाकाबन्दी गरी प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।