थाइल्यान्डको बैंककस्थित बारमा भीषण आगलागी: २७ जनाको मृत्यु

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककको एक लोकप्रिय बारमा सोमबार मध्यरातमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डको मनोरञ्जन केन्द्रका रूपमा परिचित बैंककको चाटुचक जिल्लास्थित ‘रोङ बियर ना लाट फ्राओ’ बारमा यो दुःखद घटना घटेको हो।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले घटनास्थलको निरीक्षण गर्दै २७ जनाको मृत्यु भएको आधिकारिक पुष्टि गर्नुभएको छ। मृत्यु हुनेहरूमा १८ महिला र ९ पुरुष रहेका छन्। आगलागीमा परी ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ। घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सोमबार राति करिब ११:३० बजे बारभित्र साङ्गीतिक प्रस्तुति चलिरहेका बेला अचानक आगलागी सुरु भएको थियो। प्रत्यक्षदर्शी एक सङ्गीतकर्मीका अनुसार बारको मुख्य विद्युत् स्विच (कट–आउट) नजिकैबाट आगोको झिल्का निस्किएको र लगत्तै विस्फोटको आवाज सुनिएको थियो। “आगो निकै तीव्र गतिमा फैलियो, बारभित्र धुवाँको मुस्लो भरिएपछि मानिसहरू ज्यान जोगाउन भागदौड गर्न थाले,” प्रधानमन्त्री चार्नभिराकुलले सञ्चारकर्मीहरूसँग भन्नुभयो।

आगलागीका बेला बारको मुख्य प्रवेशद्वारबाट निस्कन नसकेका धेरैजसो मानिसहरू भवनको पछाडिपट्टि रहेको शौचालयमा लुकेका थिए। तर, धुवाँको निसास्यो र आगोको रापका कारण उनीहरू त्यहीँ नै थुनिए। उद्धारकर्मीहरूले अधिकांश शव शौचालयभित्रैबाट फेला पारेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट निस्कन खोज्दा केही व्यक्तिको शरीरमा आगो सल्किएको विदारक दृश्य देखिएको छ।

दमकलकर्मीहरूले करिब आधा घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिए पनि बारको भित्री संरचना पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक फरेन्सिक अनुसन्धानका अनुसार बारभित्र सजावटका लागि प्रयोग गरिएका अत्यधिक ज्वलनशील सामग्रीहरूका कारण आगो नियन्त्रण बाहिर गएको अनुमान गरिएको छ।

थाई अधिकारीहरूले बारको अग्नि सुरक्षा मापदण्ड र आपत्कालीन निकासको अवस्थाबारे गम्भीर अनुसन्धान सुरु गरेका छन्। प्रधानमन्त्रीले दोषी पाइएमा बार सञ्चालकलाई कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।