पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुटुको आकस्मिक शल्यक्रिया: ‘हार्ट अट्याक’ पछि एन्जियोप्लाष्टी सम्पन्न

काठमाडौँ, ३२ असार । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा गम्भीर समस्या देखिएपछि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ। बिहीबार बिहान एक्कासि स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार, नेत्री शाक्यलाई बिहान छाती दुखेर अस्पताल ल्याइएको थियो। क्लिनिकल परीक्षणका क्रममा उहाँलाई ‘एक्युट मायोकोर्डियल इन्फरक्सन’ अर्थात् हृदयघात भएको पुष्टि भएपछि चिकित्सकहरूको टोलीले तत्कालै ‘एन्जियोप्लाष्टी’ गर्ने निर्णय लिएको हो।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अशोक अधिकारीको नेतृत्वमा डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जीसी सम्मिलित टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। मुटुको अवरुद्ध रक्तधमनी खुलाउने प्रक्रिया पछि शाक्यलाई हाल सघन उपचार कक्षमा राखेर विशेषज्ञहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार, समयमै उपचार प्रक्रिया सुरु भएकाले उहाँको अवस्था स्थिर रहेको बुझिएको छ।