दाइजोका नाममा भएको जघन्य हत्याको १८ वर्षपछि फरार अभियुक्त पक्राउ
जनकपुरधाम, २ साउन । सिरहा जिल्लामा करिब १८ वर्षअघि भएको एक जघन्य हत्याकाण्डका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। दाइजोको निहुँमा महिलाको हत्या गरी झन्डै दुई दशकदेखि कानुनी कारबाहीबाट बच्न लुकिछिपी बस्दै आएका ६० वर्षीय रामनाथ रायलाई जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, बरियारपट्टी गाउँपालिका–५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायको हत्या अभियोगमा रायलाई उनकै गाउँबाट पक्राउ गरिएको हो।
यो घटना विसं २०६५ साल भदौ ३ गतेको हो। दाइजोको विषयलाई लिएर उत्पन्न विवादमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाको समूहले उनीमाथि बिहान ९:०० बजे धारिलो हतियार प्रयोग गरी सांघातिक आक्रमण गरेको थियो।
हतियार प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रिकालाई तत्काल उपचारका लागि भारतको बिहार राज्यस्थित पटना पुर्याइएको थियो। त्यहाँ उपचार सफल हुन नसकेपछि उनलाई थप उपचारका लागि पुनः नेपालतर्फ ल्याइँदै गर्दा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुअघि नै बाटोमा मृत्यु भएको थियो। घटनापश्चात् संलग्न अभियुक्तहरू फरार रहेका थिए।
प्रहरीले लामो समयदेखि यस मुद्दाका फरार प्रतिवादीहरूको खोजी गरिरहेको थियो। “१८ वर्षअघिको ‘कर्तव्य ज्यान’ मुद्दाका फरार अभियुक्तलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो,” डीएसपी पालले भन्नुभयो, “पक्राउ परेका रायमाथि अदालतबाट म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।”