गोल्डेन बुटको दौडमा एमबाप्पे शीर्ष स्थानमा, मेसी दोस्रो स्थानमा
काठमाडौँ, ३ साउन । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलको समाप्तिसँगै सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा रहनुभएको छ। इङ्गल्यान्डविरुद्धको खेलमा दुई गोल थपेसँगै जारी विश्वकपमा एमबाप्पेको गोल सङ्ख्या १० पुगेको छ।
प्रतियोगितामा १० गोल र ४ असिस्टसहित एमबाप्पे पहिलो स्थानमा हुनुहुन्छ। उहाँले प्रतियोगिताभर कुल ८ खेल खेल्दै हरेक ७० मिनेटमा एक गोल गर्नुभएको छ। यस क्रममा उहाँले विपक्षीको पोष्टतर्फ ४१ पटक प्रहार गरेकामा ५६ प्रतिशत सट निसानामा रहेका थिए भने गोल परिणत दर (कन्भर्जन रेट) २४ प्रतिशत रहेको छ।
त्यस्तै, अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा हुनुहुन्छ। ७ खेल खेल्नुभएका मेसीले हरेक ७८ मिनेटमा गोल गर्दै प्रति ९० मिनेट १.१६ को औसत कायम गर्नुभएको छ। मेसीले प्रतियोगिताभर पोष्टको दिशामा ३४ पटक प्रहार गर्नुभएको छ। आइतबार स्पेनविरुद्ध हुने फाइनल खेलमा मेसीलाई एमबाप्पेको गोल सङ्ख्यालाई पछ्याउने अन्तिम अवसर रहनेछ।
यस सूचीको तेस्रो स्थानमा इङ्गल्यान्डका जुड बेलिङ्घम र नर्वेका अर्लिङ हालान्ड समान ७–७ गोलका साथ संयुक्त रूपमा रहेका छन्। बेलिङ्घमले ८ खेल खेल्दै १ असिस्ट गर्नुभएको छ भने हालान्डले ५ खेलमा ७ गोल गरे पनि कुनै असिस्ट गर्नुभएको छैन।
यसैगरी, फ्रान्सका ओसमाने डेम्बेले र इङ्गल्यान्डका ह्यारी केन समान ६–६ गोलका साथ पाँचौँ स्थानमा हुनुहुन्छ। डेम्बेलेले ८ खेलमा २ असिस्ट र केनले ७ खेलमा १ असिस्ट गर्नुभएको छ।