शैक्षिक संस्थाभित्रै छात्राहरूमाथि यौनजन्य दुर्व्यवहारको आरोपमा मोरङमा दुई शिक्षक र चालक पक्राउ

विराटनगर, ४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूलाई अमर्यादित व्यवहार र यौनजन्य दुर्व्यवहार गरेको गम्भीर अभियोगमा प्रहरीले सोही विद्यालयका दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरेको छ। प्रहरीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विद्यालयका दुई शिक्षक र एक कर्मचारी रहेका छन्:
१. किशोरलाल गच्छदार (३० वर्ष): शिक्षक, सुन्दरहरैँचा–२।
२. अबिरल मास्के (३५ वर्ष): शिक्षक, सुन्दरहरैँचा–१२।
३. प्रदीप भट्टराई (४० वर्ष): सवारी चालक, सुन्दरहरैँचा–१०।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, ती आरोपितहरूले अध्ययनरत छात्राहरूलाई विभिन्न प्रलोभन र दबाबमा पारेर दुर्व्यवहार गर्ने गरेको पाइएको छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार, आरोपितहरूले छात्राहरूलाई मोबाइलमार्फत अमर्यादित व्यक्तिगत सन्देशहरू पठाउने, परीक्षामा अङ्क बढाइदिने वा उत्तीर्ण गराइदिने जस्ता प्रलोभन देखाउने र
विद्यालय परिसर र सवारी साधनभित्र छात्राहरूको आत्मसम्मानमा चोट पुग्ने गरी यौनजन्य आशयका व्यवहारहरू गर्ने गरेको गुनासो प्राप्त भएको थियाे ।

घटना सार्वजनिक भएपछि सुकुना माविका विद्यार्थीहरूले आरोपितहरू विरुद्ध कडा कारबाहीको माग गर्दै बृहत् विरोध प्रदर्शनको तयारी गरेका थिए। प्रहरीले तत्कालै कारबाही प्रक्रिया अघि बढाएको हो। डीएसपी मिश्रले भन्नुभयो, “हामीले उजुरी र सूचनालाई गम्भीरतापूर्वक लिएका छौँ। यो केवल दुर्व्यवहार मात्र नभई यौनजन्य हिंसाको पाटोबाट समेत अनुसन्धान भइरहेको छ।”