सालझण्डी–ढोरपाटन सडकखण्ड अस्तव्यस्त: स्थानीय र पर्यटकलाई आउजाउमा सास्ती

गण्डकी, ५ साउन । बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन जोड्ने सडक जीर्ण हुँदा स्थानीय बासिन्दा तथा त्यहाँ पुग्ने पर्यटकले आवतजावतमा सास्ती खेप्नुपरेको छ। सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत फल्लेघरदेखि देउरालीसम्मको तीन किलोमिटर सडक अस्तव्यस्त बनेपछि यात्रा कष्टकर बनेको हो।

ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीका अनुसार निर्माण व्यवसायीले वर्षायाममा सडक विस्तारको काम सुरु गरेपछि यो समस्या निम्तिएको हो। “सामान्य पानी पर्नासाथ पहिरो खस्ने र सडक हिलाम्मे भई यातायात ठप्प हुने गरेको छ,” वडाध्यक्ष घर्तीले भन्नुभयो, “वर्षाको समयमा सडक खन्ने काम रोक्न आग्रह गर्दागर्दै पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि यात्रुले सास्ती पाउनुपरेको हो।”

बुर्तिबाङदेखि फल्लेघरसम्मको २८ किलोमिटर सडक ग्राभेल गरिए पनि ढोरपाटन उपत्यका जोड्ने अन्तिम तीन किलोमिटर खण्ड अत्यन्तै जीर्ण छ। विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डको काम सुस्त गतिमा हुँदा हरेक वर्ष बर्खायाममा यहाँको यातायात सेवा प्रभावित हुँदै आएको छ।

स्थानीय पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्य याममै सडक बिग्रिएका कारण पर्यटक आगमनमा कमी आएको बताउनुभयो। सडक र सञ्चारलगायतका पूर्वाधारको असुविधाले ढोरपाटनको समग्र पर्यटन व्यवसायलाई असर पुर्‍याइरहेकाले सम्बन्धित निकायको यसतर्फ तत्काल ध्यान जानुपर्ने उहाँको भनाइ छ।

पछिल्लो समय मनसुन पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन्। यहाँका उच्च पहाडी क्षेत्रमा फुल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन र वर्षात्को हरियाली अवलोकनका लागि यो मौसममा पर्यटकहरू यहाँ पुग्ने गर्दछन्।