अण्डाको फार्म मूल्यमा प्रति क्रेट रु ६० सम्म गिरावट आएपनि खुद्रा मूल्य यथावत्
काठमाडौँ, ५ साउन । नेपाल लेयर्स कुखुरापालक सङ्घले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। नयाँ मूल्यअनुसार अण्डाको फार्म मूल्यमा प्रति क्रेट रु ६० सम्म गिरावट आएको भए पनि उपभोक्ताका लागि खुद्रा मूल्य भने घटाइएको छैन।
चितवनमा बसेको सङ्घको बैठकले देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा नयाँ दररेट तय गरेको हो। यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा फार्म मूल्यमा गिरावट आएको हो। सङ्घले चितवनलाई नै मुख्य आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तोकेको जनाएको छ।
नयाँ दररेटअनुसार सबैभन्दा ठूलो (एक्स्ट्रा लार्ज) साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट रु ५१५ कायम गरिएको छ, जुन यसअघि रु ५७५ रहेको थियो। त्यस्तै, साविकमा प्रति क्रेट रु ५६० रहेको ठूलो (लार्ज) अण्डाको मूल्य रु ५०० र पहिले रु ५३० रहेको मध्यम (मिडियम) अण्डाको मूल्य रु ४७० कायम गरिएको छ। यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा रु ६० गिरावट आएको छ।
यसैगरी, सानो अण्डाको मूल्यमा पनि प्रति पेटी रु ३०० कमी आई रु २,९०० कायम भएको छ, जुन यसअघि प्रति पेटी रु ३,२०० रहेको थियो।
फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि सर्वसाधारण उपभोक्ताले खरिद गर्ने मूल्यमा भने कुनै फेरबदल गरिएको छैन। खुद्रा बजारमा उपभोक्ताका लागि पहिलेकै दर यथावत् राखिएको छ।