क्यानका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौँ, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा दुई छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । ठेक्का प्रक्रियामा ‘सेटिङ’ गरी निर्माण व्यवसायीबाट करोडौँ रुपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको अनुसन्धान अनुसार अधिकारीले क्यानको महानिर्देशक पदमा रहँदा ओहोदाको दुरुपयोग गरी विभिन्न ठेक्काहरू स्वीकृत गर्ने, रेखदेख गर्ने र भुक्तानी दिने कार्यमा सहजीकरण गरिदिए बापत १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए । उनले उक्त रकम गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट लिएको अनुसन्धानमा पुष्टि भएको अख्तियारको दाबी छ ।

घुसबापत प्राप्त अवैध रकमलाई वैध देखाउन अधिकारीले ललितपुर महानगरपालिका वडा नं. ५ मा श्रीमतीको नाममा १३ आना जग्गा खरिद गरेको पाइएको छ । उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्र मूल्य कायम गरी वास्तविक कारोबारको रकम लुकाइएको र बाँकी रकम अवैध स्रोतबाट लगानी गरिएको आयोगले जनाएको छ ।

अख्तियारले अधिकारी र गायत्री निर्माण सेवाका प्रमुख ढकाल दुवैलाई प्रतिवादी बनाउँदै १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरेको छ । आयोगले बिगो बमोजिमको जरिवाना, कैद सजाय र घुसको रकमबाट खरिद गरिएको ललितपुरस्थित जग्गा समेत जफत गर्न मागदाबी गरेको छ । ढकालमाथि घुस दिने र सम्पत्ति शुद्धीकरणमा सघाएको आरोप लगाइएको छ ।