नेपालगञ्जबाट चार लाख भारतीय रुपैयाँसहित होटलका कर्मचारी पक्राउ
नेपालगञ्ज, ७ साउन । बाँके प्रहरीले अवैध भारतीय मुद्रासहित नेपालगञ्ज बसपार्क क्षेत्रबाट एक होटल कर्मचारीलाई पक्राउ गरेको छ। न्यू लक्ष्मी होटल एन्ड लजमा कार्यरत वीरबहादुर राउतलाई रु चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार बसपार्क क्षेत्रमा अवैध वित्तीय कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राउतलाई पक्राउ गरेको हो। उनको साथबाट लुकाएर राखिएको अवस्थामा भारु ५०० दरका ८०० थान नोट फेला परेको प्रहरीले जनाएको छ। नेपालमा ५०० दरका भारतीय नोटहरूको कारोबारमा प्रतिबन्ध लगाइएको छ।
प्रहरी उपरीक्षक जिसीले बसपार्क क्षेत्रका होटलहरूबाट अवैध गतिविधि हुने गरेको जनगुनासो आएकाले निगरानी बढाइएको बताउनुभयो। पक्राउ परेका राउतमाथि नेपाल राष्ट्र बैंक ऐनबमोजिम कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
यता, न्यू लक्ष्मी होटल एन्ड लजका सञ्चालक धर्मराज बस्नेतले भने जाजरकोटबाट आएका छ जना ठेकेदार मातहत कार्यरत करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम सङ्कलन गरिएको दाबी गर्नुभयो। सोही रकम सटहीका लागि लैजाने क्रममा होटलका कर्मचारी राउत पक्राउ परेको सञ्चालक बस्नेतको जिकिर छ।