लहान आन्तरिक राजस्व कार्यालयका कर अधिकृत ५ लाख घुससहित रङ्गेहात पक्राउ
सिरहा, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहानमा कार्यरत कर अधिकृत युवराज पाल रु पाँच लाख घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उहाँलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले अडिट प्रक्रिया अगाडि बढाइदिनका लागि उक्त रकम माग गरेका थिए। उनले आफूभन्दा माथिल्लो तहका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिहरूलाई समेत मिलाउनुपर्ने भन्दै घुस रकम माग गरेको आरोप छ।
रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने भएपछि पीडित पक्षले अख्तियारमा उजुरी दिएको थियो। यसअघि बुधबार दिउँसो कम्पनीका प्रतिनिधिलाई कार्यालयमै कुराइए पनि रकम बुझिएको थिएन। बुधबार साँझ कर अधिकृत पालले कम्पनी प्रतिनिधिलाई फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी गराउँदै बिहीबार बिहान भेट्ने गरी एक बिचौलियाको सम्पर्क नम्बर पठाएका थिए।
बिचौलियाले आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पाल आफैँले रकम आज कार्यालयमै ल्याउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार कार्यालयमै रकम बुझ्दै गर्दा अख्तियारको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।