बाल मन्दिर जग्गा ठगी प्रकरणमा तत्कालीन पदाधिकारी र कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ८ साउन । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा हिनामिना तथा ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ठगीको कसुरमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा सङ्गठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र तत्कालीन सभापति युरी कुमारी राई रहेका छन् ।
यसैगरी, तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकारविरुद्ध पनि मुद्दा दर्ता भएको छ। प्रतिवादी बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्र पक्राउ परेका छन् भने बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गरी मुद्दा चलाइएको छ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले प्रतिवादीहरूविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको जानकारी दिनुभयो।

बाल मन्दिरको जग्गा हिनामिनासम्बन्धी विवादको छानबिन गर्न उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित जाँचबुझ आयोगले वि.सं. २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गत चैतमा मन्त्रिपरिषद्ले गरेपछि सीआईबीले यसमाथि विस्तृत अनुसन्धान सुरु गरी कानुनी प्रक्रिया अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *