नेपाल सरकारका उपसचिव स्रोत नखुलेको साढे ६ लाख नगदसहित विराटनगरबाट पक्राउ

विराटनगर, ८ साउन । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रु ६ लाख ६५ हजार नगदसहित नेपाल सरकारका उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्। उनी राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख हुन्।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौँ जाने क्रममा पक्राउ परेका हुन्। उनको पक्राउको विवरण प्रहरीले शुक्रबार मात्र सार्वजनिक गरेको हो।

विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले तामाङको झोला जाँच गर्ने क्रममा रु १ हजार दरका ५१५ थान र रु ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला पारेको थियो। बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि विमानस्थल प्रहरीले उहाँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बरामद भएको रकमको स्रोत पुष्टि हुन नसकेका कारण उपसचिव तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।