काठमाडौँ महानगर वडा नं ३० का लेखा अधिकृत भट्टराई २१ हजार घुससहित नियन्त्रणमा
काठमाडौँ, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा कार्यरत लेखा अधिकृत उद्धव भट्टराईलाई रु २१ हजार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ।
अख्तियारको टोलीले भट्टराईलाई शुक्रबार वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
सेवाग्राहीको स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिस उपलब्ध गराउने बहानामा दुःख हैरानी दिई घुस रकम माग गरेको भन्दै परेको उजुरीका आधारमा अख्तियारको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।