तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ, साउन ९ । काठमाडौँको तारकेश्वर नगरपालिका १ चुनदेवीमा एक महिला कारभित्रै जलेको अवस्थामा मृत फेला परेकी छिन् । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका ९ निवासी ४५ वर्षीया रश्मि रिजाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार रिजाल शुक्रबार बिहान कार्यालय जाने भनी घरबाट निस्किएकी थिइन् । साँझसम्म पनि सम्पर्कमा नआएपछि परिवारले उनी बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा शनिबार चुनदेवीस्थित एक कारको पछाडिको सिटमा उनको शव फेला पारेको हो । कारको भित्री भाग अधिकांश जलेको अवस्थामा फेला परेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कारभित्र सल्किएको आगो र त्यसबाट निस्किएको धुवाँका कारण निसास्सिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।