सालिक तोडफोडको आरोपमा लमजुङमा एक युवक पक्राउ
काठमाडौँ, साउन १० । लमजुङको मध्यनेपाल नगरपालिका ४, दुर्दीपुलस्थित भानु घाँसी संवाद पार्कमा रहेका सालिकहरू तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत साउन ७ गते राति आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको अभियोगमा २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो । तनहुँको व्यास नगरपालिका ७ स्थायी ठेगाना भई हाल लमजुङमा बस्दै आएका कुँवरलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कुँवरमाथि लमजुङ जिल्ला अदालतबाट ‘अपराधिक उपद्रव’ मुद्दामा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।