अमेरिकी मध्यावधि निर्वाचन आउन १०० दिन बाँकी: राष्ट्रपति ट्रम्प र रिपब्लिकनलाई बहुमत जोगाउने चुनौती
एजेन्सी, १० साउन । संयुक्त राज्य अमेरिकामा मध्यावधि निर्वाचन हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको दल रिपब्लिकन पार्टीले कडा राजनीतिक चुनौती सामना गरिरहेको छ। प्रतिनिधि सभामा आफ्नो झिनो बहुमत जोगाउन र सिनेटमा नियन्त्रण कायम राख्न रिपब्लिकनहरूले कठिन प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।
आगामी नोभेम्बर ३ मा हुने यस मतदानमा राष्ट्रपति ट्रम्प स्वयं उम्मेदवार नभए पनि यसको परिणाम उहाँको बाँकी कार्यकालका लागि महत्त्वपूर्ण हुनेछ। विपक्षी डेमोक्र्याटले प्रतिनिधि सभामा बहुमत हासिल गरेमा संसद्का शक्तिशाली समितिहरूको नेतृत्व गर्ने र राष्ट्रपति प्रशासनका नीतिहरूमाथि छानबिन गर्ने अधिकार पाउनेछन्।
चुनावी प्रक्षेपण गर्ने संस्था ‘डिसिजन डेस्क मुख्यालय’ का अनुसार डेमोक्र्याटले प्रतिनिधि सभामा बहुमत ल्याउने सम्भावना ५९ प्रतिशत छ। उसले डेमोक्र्याटले २२४ देखि २११ सिट ल्याउन सक्ने प्रक्षेपण गरेको छ।
विशेष गरी इरानसँगको जारी युद्धका कारण ऊर्जा बजारमा परेको असर, निरन्तरको उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र प्रतिग्यालोन चार डलर नाघेको पेट्रोलको मूल्यका कारण अमेरिकी अर्थतन्त्रप्रति आम मतदाताको असन्तुष्टि बढेको छ।
हाउस डेमोक्र्याटिक नेता हकीम जेफ्रीजले किराना सामान, इन्धन, आवास र स्वास्थ्य सेवाको मूल्यवृद्धि जस्ता जनसरोकारका विषयलाई चुनावी एजेन्डा बनाउँदै रिपब्लिकनहरूले जनतालाई निराश तुल्याएको आरोप लगाउनुभएको छ।
अर्कोतर्फ, प्रतिनिधि सभाका सभामुख माइक जोनसनको नेतृत्वमा रिपब्लिकनहरूले यस निर्वाचनलाई ‘सामान्य बुद्धिमत्ता’ (कमन सेन्स) र प्रगतिशील समाजवादी नीतिहरूबीचको छनोटका रूपमा प्रस्तुत गर्ने रणनीति बनाएका छन्। उनीहरूले सीमा सुरक्षा र कर कटौतीलाई मुख्य मुद्दा बनाएका छन्। राष्ट्रपति ट्रम्पले पनि चुनावमा हुन सक्ने धाँधली रोक्ने दाबीसहित ‘सेभ अमेरिका ऐन’ पारित गराउन रिपब्लिकन सांसदहरूलाई दबाब दिइरहनुभएको छ, जसलाई डेमोक्र्याटले वैधानिक मत दबाउने प्रयास भन्दै आलोचना गरेका छन्।
जर्ज वासिङ्टन विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक सारा बाइन्डरका अनुसार निर्वाचन क्षेत्रहरूको पुनःनिर्धारण (रिडिस्ट्रिक्टिङ) का कारण यसपटक प्रतिनिधि सभाका करिब २० क्षेत्रमा मात्र वास्तविक र कडा प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि, रिपब्लिकनहरूले डेमोक्र्याटभन्दा करोडौँ डलर बढी चुनावी चन्दा सङ्कलन गरेकाले उनीहरू आर्थिक रूपमा बलियो अवस्थामा छन्।
सिनेटतर्फ हाल रिपब्लिकनको ५३–४७ को बहुमत रहेको छ। यदि सिनेटमा ५०–५० को बराबरी अवस्था आए पनि रिपब्लिकनकै तर्फबाट उपराष्ट्रपति जेडी भान्सको निर्णायक मत रहने भएकाले सिनेटमा रिपब्लिकनको नियन्त्रण कायमै रहने विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषक चक टोडका अनुसार मध्यावधि निर्वाचनमा डेमोक्र्याटले प्रतिनिधि सभामा १० देखि २५ सिटसम्म थप्न सक्ने सम्भावना छ। पछिल्लो ‘इकोनोमिस्ट/युगोभ’ सर्वेक्षणमा राष्ट्रपति ट्रम्पको लोकप्रियता केवल ३६ प्रतिशतमा खुम्चिएको देखिएको छ। विश्लेषकहरूका अनुसार राष्ट्रपतिको यस्तो कमजोर अनुमोदन दरले मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले सिट गुमाउने जोखिमलाई झन् बढाएको छ।