मधेस प्रदेशमा तीन वर्षमा २ हजार ८११ जना लागूऔषध कारोबारीहरू पक्राउ

जनकपुरधाम, १० साउन । मधेस प्रदेशमा प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाएसँगै ठूलो सङ्ख्यामा सेवनकर्ता र कारोबारीहरू पक्राउ पर्न थालेका छन्। प्रदेशका आठवटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र नियमित जाँचलाई तीव्र बनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशमा विभिन्न प्रकारका लागूऔषधसहित दुई हजार ८११ जनालाई पक्राउ गरिएको छ। यस अवधिमा कुल दुई हजार १२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। पक्राउ परेकाहरूमध्ये दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो।

प्रवक्ता ढकालका अनुसार भर्खरै समाप्त भएको आर्थिक वर्ष २०८२/८३ मा प्रहरीले लागूऔषधसहित ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी गरी ८७१ जनालाई पक्राउ गरेको छ। यस अवधिमा ६३० वटा मुद्दा दर्ता भएका छन् भने १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ वटा प्रतिबन्धित ट्याब्लेट, दुई हजार ११८ बोतल सिरप र १८ हजार १२५ थान इन्जेक्सन बरामद भएको छ।

आर्थिक वर्ष २०८१/८२: लागूऔषधसहित ८३६ जना पक्राउ परेका थिए र ५८५ वटा मुद्दा दर्ता भएका थिए। सो वर्ष १६ हजार ५७३ किलो गाँजा, ६१ ग्राम ब्राउन सुगर, ५०५ किलो चरेस, ४५ किलो अफिम, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद भएको थियो।

आर्थिक वर्ष २०८०/८१: लागूऔषध कारोबारमा संलग्न एक हजार १०४ जना पक्राउ पर्दा ७९७ वटा मुद्दा दर्ता भएका थिए। सो वर्ष आठ हजार ५३९ किलो गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलो १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम हिरोइन, ४९ हजार ८८८ ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको थियो।

नेपाल–भारत खुला सिमानाकाको फाइदा उठाउँदै सीमावर्ती भारतीय बजारका औषधि पसलहरूबाट अवैध रूपमा प्रतिबन्धित फर्मास्युटिकल लागूऔषध खरिद गरी नेपाल भित्र्याउने र काठमाडौँसम्म पुर्‍याउने गरेको पाइएको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सीमा नाकामा जाँच कडा पारिएसँगै ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य सामग्री बरामद हुन थालेको छ।

लागूऔषध दुर्व्यसन र कारोबारको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन्। डीआईजी अधिकारीले पछिल्लो समय युवावर्गका साथै बालबालिका, किशोरकिशोरी र महिलाहरू समेत कुलतमा फसेको देखिएकाले यसको रोकथामका लागि अभिभावक, विद्यालय र परिवार आफैँ बढी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।