नारायणी अस्पतालमा बिरामीको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन

पर्सा, १० साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उहाँका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। अक्सिजन सपोर्टमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन मास्क हटाइएका कारण मृत्यु भएको मृतकका आफन्तको दाबी छ।

तनावपूर्ण अवस्थालाई मत्थर पार्न प्रशासनको पहलमा गठन गरिएको छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका डा. निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार सदस्य रहनुभएको छ। समितिको संयोजकत्व जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी निरीक्षकले गर्नुभएको छ।

अस्पताल प्रशासनले घटनाका बेला उपचारमा संलग्न रहेका पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि दैनिक कार्य जिम्मेवारीबाट हटाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले छानबिन समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको र प्रतिवेदनका आधारमा दोषी देखिएकाहरूमाथि कानुनबमोजिम आवश्यक कानुनी कारबाही गरिने जानकारी दिनुभयो।