मोबाइल नदिएको निहुँमा बागलुङमा साथीहरूद्वारा किशोरको हत्या, चार जना पक्राउ

बागलुङ, १० साउन । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको मोबाइल नदिएको निहुँमा उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गत साउन १ गते स्थानीय असिम वनको जन्मदिन मनाउन गएका थापा घर नफर्किएपछि खोजी गर्ने क्रममा गत बिहीबार स्थानीय मनखोलामा उनको शव फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फडिन्द्र प्रसाईंका अनुसार साउन १ गते राति २:३० बजेसम्म स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरेपछि घर फर्कने क्रममा मोबाइलका विषयमा विवाद भएको थियो। लजिनसँग रहेको ‘आइफोन’ मोबाइल माग्दा नदिएपछि रेमबहादुर र ददीले उनलाई एकान्तस्थलमा पछ्याएर कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि उनीहरूले घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा लगेर शव लुकाएका थिए। लजिन बेपत्ता भएको हप्ता दिनसम्म पनि पत्ता नलागेपछि प्रहरीले प्राविधिक टोली, तालिमप्राप्त कुकुर तथा ड्रोन क्यामेराको सहायताले खोजी कार्य अघि बढाएको थियो।

काठमाडौँको धुम्रबाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि मात्र बिदामा घर आएका थिए। पक्राउ परेका आरोपीहरूलाई नियन्त्रणमा लिई व्यक्ति बेपत्ता पारेको तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी थप कानुनी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।