विज्ञापन प्रसारणअघि बोर्डको अनुमति अनिवार्य : नियम उल्लंघन गरे कारबाही हुने चेतावनी

काठमाडौँ, ११ साउन । विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै प्रकारका विज्ञापन सामग्रीहरू प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई अनुमति लिनुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै श्रव्य, दृश्य तथा श्रव्यदृश्य (अडियो–भिजुअल) विज्ञापनहरूका लागि यस्तो नियम कडाइका साथ लागू गरिने स्पष्ट पारेको हो ।

हाल विभिन्न सञ्चारमाध्यमहरूबाट बोर्डको पूर्वस्वीकृति विना नै विज्ञापनहरू प्रसारण भइरहेको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो । कतिपय विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना र आवश्यक चेतावनीमूलक सन्देश नभएको तथा तथ्यहीन एवं अतिरञ्जित सामग्रीले उपभोक्तालाई भ्रममा पारिरहेको बोर्डको ठहर छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५(ख) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम (५) बमोजिम विज्ञापन सामग्रीको परीक्षण र अनुमति दिने अधिकार विज्ञापन बोर्डमा निहित छ । बोर्डले हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्रीहरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गरी अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।

प्रचलित कानुनको बर्खिलाप हुने गरी र उपभोक्तालाई झुक्याउने खालका सामग्रीहरू तत्काल हटाउन समेत बोर्डले सचेत गराएको छ । यदि कसैले कानुनी व्यवस्थाको उल्लंघन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।