निर्वाचन आयुक्तमा प्रस्तावित वाग्ले र सुब्बाको आज संसदीय सुनुवाइ हुँदै

काठमाडौँ, १२ साउन । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहानका लागि तय गरिएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्तहरूमा ओखलढुङ्गाका वाग्ले र काठमाडौँका सुब्बालाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित नामहरूमाथि सुनुवाइ गरी अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि समितिले प्रमुख आयुक्त र आयुक्तमा प्रस्तावित व्यक्तिहरूविरुद्ध कुनै गुनासो वा उजुरी भएमा सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । आजको बैठकमा समितिले प्रस्तावित व्यक्तिहरूको योग्यता, कार्यक्षमता र भावी योजनाका विषयमा छलफल गर्नेछ ।