नारायणी अस्पताल घटनाको विरोधमा स्वास्थ्य सेवा ठप्प, चिकित्सकहरूद्वारा माइतीघरमा प्रदर्शन
काठमाडौँ, १३ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पताल तोडफोडको विरोधमा चिकित्सकहरूले बुधबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।
सङ्घका अनुसार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनालाई लिएर चिकित्सकहरूमाथि साङ्घातिक आक्रमण र भौतिक संरचना तोडफोड गरिएको थियो। सो घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारले उदासीनता देखाएको आन्दोलनरत चिकित्सकहरूको भनाइ छ।
घटना भएको पाँच दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो उल्टै न्याय माग्न गएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएको सङ्घका अध्यक्ष डा. बद्री रिजालले गुनासो गर्नुभयो।
अध्यक्ष रिजालले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्दै राज्यले आफूहरूको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू तत्काल फिर्ता लिन तयार रहेको स्पष्ट पार्नुभयो। सङ्घले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गरी भयरहित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।