धनुषाको मन्दिरमा मृत भेटिएका व्यक्ति पुजारी नभएको प्रहरीको स्पष्टोक्ति

जनकपुरधाम, १५ साउन । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘पुजारीको हत्या’ भन्दै समाचार सम्प्रेषण भएपछि प्रहरीले उक्त सूचना गलत भएको जानकारी दिएको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृत फेला परेका बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको पुष्टि गर्नुभयो । उहाँले यस्तो संवेदनशील विषयमा सत्यतथ्य नबुझी भ्रम नफैलाउन सबैसँग आग्रह गर्दै गलत सूचना सम्प्रेषण भएकोमा आपत्ति व्यक्त गर्नुभएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि आज एक विज्ञप्ति जारी गर्दै मृतक कडेरी पुजारी नभई मजदुरी गर्ने र घुमी हिँड्ने व्यक्ति भएको स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भन्नुभयो, मन्दिर परिसरमा शव फेला परेका कडेरी बाहिर कामकाज गर्ने र राति सुत्नका लागि मात्र मन्दिरमा आउने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले यो घटनालाई धर्मसँग जोडेर नहेर्न र साम्प्रदायिक रङ्ग नदिन समेत अनुरोध गरेको छ । यो विशुद्ध आपराधिक घटना भएको र दोषीको पहिचानका लागि कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिएर सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता प्रहरीले व्यक्त गरेको छ ।