सुनसरीमा दिउँसोको कर्फ्यु हटाइयो, ९ स्थानीय तह र राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी

इनरुवा, १६ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेशलाई दिउँसोको समयका लागि हटाउँदै निषेधाज्ञा लागू गरेको छ । शान्ति–सुरक्षाको अवस्थाको विश्लेषण गर्दै प्रशासनले सर्वसाधारणको सहजताका लागि दिउँसो कर्फ्यु हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार गत साउन १२ गतेदेखि लगाइएको कर्फ्यु आज बिहान ५ः३० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि हटाइएको छ । यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा भने कायम राखिएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा धर्ना जस्ता गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्युको स्वरूप परिवर्तन गरी निषेधाज्ञा जारी गरिएको स्पष्ट पारेको छ ।

निषेधाज्ञा लागू भएका क्षेत्रहरू:
१. इटहरी उपमहानगरपालिका: वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र ।
२. रामधुनी नगरपालिका: वडा नं. १ र २ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र ।
३. इनरुवा नगरपालिका: सम्पूर्ण क्षेत्र ।
४. दुहबी नगरपालिका: सम्पूर्ण क्षेत्र ।
५. भोक्राहा नरसिंह गाउँपालिका: सम्पूर्ण क्षेत्र ।
६. कोशी गाउँपालिका: सम्पूर्ण क्षेत्र ।
७. गढी गाउँपालिका: सम्पूर्ण क्षेत्र ।
८. देवानगञ्ज गाउँपालिका: सम्पूर्ण क्षेत्र ।
९. हरिनगर गाउँपालिका: सम्पूर्ण क्षेत्र ।
१०. बर्जु गाउँपालिका: सम्पूर्ण क्षेत्र ।

प्रशासनले निषेधाज्ञाको अवधिमा सबै नागरिकलाई संयमित रहन र आदेशको पूर्ण पालना गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपिल गरेको छ । साउन १० गते देवानगञ्जमा भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न प्रशासनले कडाइ गर्दै आएको छ । तर, पछिल्लो समय सरकार र पीडित पक्षबीच सहमति भएपछि स्थिति बिस्तारै सामान्य बन्दै गएको छ ।