कुबेत आक्रमणमा ज्यान गुमाएका नेपालीको पार्थिव शरीर आज स्वदेश ल्याइँदै

काठमाडौँ,  साउन १६ । कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज स्वदेश ल्याइने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उत्तरी कुबेतमा गत बिहीबार भएको आक्रमणमा परी तेह्रथुम निवासी तामाङको निधन भएको थियो। मृतक तामाङको पार्थिव शरीर कुबेत एयरवेजको उडानमार्फत आज नेपाल ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

यस दुःखद् घटनाप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । कुबेतस्थित नेपाली राजदूतावासले त्यहाँका स्थानीय निकाय तथा सम्बन्धित रोजगारदाता कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने सम्पूर्ण कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेको जानकारी दिएको छ ।