मोरङमा १० क्विन्टलभन्दा बढी गाँजासहित मिनि ट्रक चालक पक्राउ

काठमाडौँ, साउन १७ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ । रतुवामाई नगरपालिका १०, सोमबारेस्थित सडक खण्डबाट १ हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका ९, हिलेका २८ वर्षीय उमेश तामाङ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले शनिबार नियमित जाँचका क्रममा उक्त अवैध पदार्थ बरामद गरेको हो । उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रकलाई शङ्का लागेर जाँच गर्दा ट्रकभित्र ३१ वटा पोकामा लुकाएर राखिएको अवस्थामा सो परिमाणको गाँजा फेला परेको थियो ।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न चालक तामाङ र सवारी साधनलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।