सप्तरीमा दैनिक उपभोग्य वस्तु खरिदका लागि ११ बजेसम्म कर्फ्यु खुकुलो
सप्तरी, १७ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराज लगायतका क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेशलाई आज बिहान केही समयका लागि खुकुलो पारेको छ । सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज बनाउने उद्देश्यले बिहान ७ देखि ११ बजेसम्मका लागि कर्फ्यु खुकुलो पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार तोकिएको समयावधि पछि भने कर्फ्यु आदेश पुनः पूर्ण रूपमा कार्यान्वयन हुनेछ । साथै, प्रशासनको अनुमति लिएर आयोजना गर्न लागिएको ‘सद्भाव र्याली’ लाई मध्यनजर गर्दै समेत कर्फ्यु आदेशमा केही खुकुलोपन अपनाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले कर्फ्यु खुकुलो पारिएको समयमा हुलदङ्गा गर्ने, अशान्ति फैलाउने वा अन्य कुनै उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला भई उच्छृङ्खल गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
सुनसरीको देवानगन्जमा भएको घटनापछि उत्पन्न तनावलाई नियन्त्रण गर्न सप्तरीको बोदेबरसाइनमा गत साउन १४ गते राति १० बजेदेखि र राजविराजमा साउन १५ गते बिहान ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो । हाल सुरक्षा अवस्थाको विश्लेषण गर्दै प्रशासनले आवतजावत र किनमेलमा केही सहजता प्रदान गरेको हो ।
प्रशासनले सबै नागरिकलाई संयमित रहन र जिल्लामा साम्प्रदायिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ । ११ बजेपछि भने अत्यावश्यक बाहेकका सबै गतिविधि र हिँडडुलमा पुनः प्रतिबन्ध लाग्ने जनाइएको छ ।