सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही, १८ साउन । सर्लाहीको लालबन्दीमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१ मा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकामा करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सीतामढी जिल्लाका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् । महतो कारका चालक हुन् भने कुमार कारमा सवार थिए ।

प्रहरीले बरामद गाँजा, कार र दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । पछिल्लो समय सिमानाका र राजमार्गहरूमा लागुऔषधको अवैध ओसारपसार बढ्दै गएपछि प्रहरीले निगरानी र जाँचमा कडाइ गरेको छ ।