तिब्बती शरणार्थीका नाममा गैरकानुनी ‘ट्राभल डकुमेन्ट’ : परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौँ, १९ साउन । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई सोमबार त्रिपुरेश्वरबाट नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर जबराका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएपछि भट्टराईलाई पक्राउ गरिएको हो ।

तत्कालीन समयमा गैरकानुनी रूपमा जारी गरिएको यात्रा अनुमतिपत्र बोकेर केही व्यक्तिहरू काठमाडौँस्थित जर्मन राजदूतावास पुगेका थिए । उनीहरूको राष्ट्रियतामाथि शङ्का लागेपछि दूतावासले सोधपुछ र सूक्ष्म अनुसन्धान सुरु गरेको थियो । सोही क्रममा दूतावासले २०६८ जेठ २० गते शङ्कास्पद पाँच थान सक्कल यात्रा अनुमतिपत्र थप अनुसन्धान र कारबाहीका लागि सीआईबीमा पठाएको थियो ।

सीआईबीको लामो अनुसन्धानका क्रममा उक्त अनुमतिपत्र जारी गर्दा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृतका रूपमा कार्यरत भट्टराईको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको दाबी छ । पक्राउ परेका सहसचिव भट्टराईमाथि राहदानी ऐन सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

पछिल्लो समय सरकारी निकायबाटै गैरकानुनी रूपमा राहदानी तथा यात्रा अनुमतिपत्र जारी हुने गरेका घटनाहरू बाहिर आउन थालेपछि प्रहरीले पुरानो फाइलहरू पल्टाएर अनुसन्धानलाई तीव्र पारेको छ ।