हर्मुज जलसन्धिमा कार्गो जहाजमाथि प्रक्षेप्यास्त्र प्रहार : विश्व ऊर्जा मार्गमा सुरक्षा चिन्ता थपियो
एजेन्सी, १९ साउन । अमेरिका र इरानबीच जारी द्वन्द्वका बीच रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलसन्धिमा एक कार्गो जहाजमाथि अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण भएको छ । यस घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्गको सुरक्षा र बढ्दो अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ ।
बेलायतको समुद्री सुरक्षा निकाय ‘युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स’का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तर–पूर्वमा रहेको जहाजलाई स्थानीय समय अनुसार राति करिब २ बजे प्रहार गरिएको थियो । निकायले आक्रमणमा परेको जहाजको नाम, कुन देशको झन्डा अङ्कित हो वा त्यसले बोकेको सामानबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।
पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलसन्धि विश्वको तेल र प्राकृतिक ग्यास आपूर्तिका लागि मुख्य मार्ग हो । गत फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता इरानले यो जलमार्गमा जहाजहरूको आवतजावतमा अवरोध पुर्याउँदै आएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ । यसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार र ऊर्जा आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ ।
जहाजमाथि आक्रमण भएकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गर्नुभएको छ । कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) को आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको ट्रम्पको भनाइ छ । उहाँले इरानले सार्वजनिक रूपमा अस्वीकार गरे पनि दुवै पक्षबीच भित्री रूपमा संवाद जारी रहेको जिकिर गर्नुभएको छ ।
यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने अमेरिकासँग कुनै पनि वार्ता भइरहेको कुरालाई ठाडै अस्वीकार गर्नुभएको छ । उहाँले तेहरानको संवाद केवल ओमानसँग मात्र भइरहेको र त्यसको मुख्य एजेन्डा हर्मुज जलसन्धिमा सुरक्षित जलयात्राको सुनिश्चितता गर्नु रहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले भने इरानले नै वार्ताका लागि आग्रह गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिलाई ‘विरोधाभासपूर्ण’ भनी टिप्पणी गर्नुभएको छ । एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ कुनै छलफल नभएको दाबी गर्ने इरानी प्रवृत्तीले भ्रम सिर्जना गरेको ट्रम्पको आरोप छ । दुई देशबीचको यो वाक्युद्ध र जलमार्गमा हुने यस्ता आक्रमणले क्षेत्रीय अस्थिरतालाई थप बल पुर्याएको विश्लेषण गरिएको छ ।