झापामा भन्सार छलीका पानजन्य सामग्री र माछा बरामद

काठमाडौँ, साउन २० । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका पानजन्य सामग्री र माछा बरामद गरेको छ । प्रहरीले आज करिब ५८ हजार रुपैयाँ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार, इलाका प्रहरी कार्यालय चारआलीबाट खटिएको गस्ती टोलीले मेचीनगर नगरपालिका १३ स्थित फुलबासा पुल नजिकैबाट बेवारिसे अवस्थामा लुकाइराखिएको सामग्री फेला पारेको थियो।

बरामद गरिएका सामग्री

  • ५० किलोग्राम हरियो पानको पत्ता

  • ३२ थान गुल (टिन र प्लास्टिकको बट्टा)

  • १२ थान रङ्गोल र १० थान पान मसला

  • ७० थान दिल खुस चट्नी र २० थान केशर तमाखु

५२ हजार २० रुपैयाँ बराबरको मूल्याङ्कन गरिएको उक्त सामग्रीलाई आवश्यक कानुनी प्रक्रियाका लागि आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ।

अवैध माछा बरामद गरी नष्ट
यसैगरी, आजै अपराह्न इलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगञ्ज गाउँपालिका ३ स्थित बुधबारे हटिया क्षेत्रबाट करिब २० किलोग्राम अवैध ‘मुङ्गी’ माछा बरामद गरेको छ । भन्सार छली गरी प्लास्टिकमा लुकाइ ल्याइएको उक्त माछाको बजार मूल्य करिब ६ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ ।

बरामद गरिएको माछालाई स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइनका कर्मचारी र बजार व्यवस्थापन समितिका प्रतिनिधिहरूको रोहबरमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको परिसरमा नष्ट गरिएको छ ।

सीमा क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले आफ्नो सक्रियता र गस्तीलाई थप तीव्र बनाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *