मेनपावर व्यवसायीलाई विभागको कडा निर्देशन: ‘कोटा सकियो’ भन्दै कामदार फर्काउन नपाइने

काठमाडौँ, २१ साउन । वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई ‘कोटा सकियो’ भन्दै आवेदन लिन इन्कार गर्ने मेनपावर व्यवसायीहरूमाथि वैदेशिक रोजगार विभागले कडाइ गरेको छ। विभागले एक सूचना जारी गर्दै विज्ञापनको म्याद बाँकी रहँदै आवेदन लिन नमान्ने प्रवृत्ति रोक्न र सबै इच्छुक आवेदकको निवेदन अनिवार्य लिन निर्देशन दिएको हो।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कुनै पनि देशमा कामदार पठाउन पूर्वस्वीकृति पाएपछि मेनपावर कम्पनीले कम्तीमा सात दिनको समय दिएर राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, विज्ञापनको म्याद नसकिँदै ‘हाम्रो कोटा भरिसक्यो’ भन्दै युवाहरूलाई आवेदन दिनबाट वञ्चित गर्ने र छनोट प्रक्रियामै सहभागी नगराउने व्यापक गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो।

अनिवार्य आवेदन सङ्कलन: विज्ञापन प्रकाशित भएको सात दिनको अवधिभित्र निवेदन दिन आउने सबै आवेदकहरूको आवेदन मेनपावरले अनिवार्य रूपमा लिनुपर्नेछ।
सूची सार्वजनिक गर्नुपर्ने: आवेदन सङ्कलनको म्याद (सातौँ दिन) सकिएपछि मात्र सबै आवेदकहरूको एकमुष्ट नामावली मेनपावरको वेबसाइटमा प्रकाशन गरी छनोट प्रक्रिया सुरु गर्नुपर्नेछ।
पारदर्शी छनोट प्रक्रिया: आवेदन दिएका सबै व्यक्तिलाई छनोट प्रक्रियामा सहभागी गराउनुपर्नेछ।
अस्वीकृत हुनुको कारण खुलाउनुपर्ने: छनोट नभएका व्यक्तिहरूलाई के कति कारणले उनीहरू छनोट हुन सकेनन्, सोको स्पष्ट कारणसहित जानकारी दिनुपर्ने व्यवस्था मिलाउन विभागले सूचित गरेको छ।

विभागको यो नयाँ नियमले वैदेशिक रोजगारीको नाममा हुने बिचौलियाको चलखेल र मेनपावरहरूको स्वेच्छाचारितालाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। निर्देशन पालना नगर्ने र आवेदकलाई फर्काउने मेनपावर कम्पनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।